काठमाडौं,
फागुन १ ।
आइतबार थप ५२१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पिसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ९७, ललितपुरमा ४४, मोरङमा ४०, कास्कीमा ३६, झापामा २३, सुनसरीमा १३ र रुपन्देहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १० हजार ४७१ पुगेको छ । पछिल्लो समय देशभर कोरोना सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।
आइतबार तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।
थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।






