काठमाडौं,
फागुन १ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ । आइतबार सत्ता गठबन्धनका तर्फबाट संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराइएको छ । महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्तापछि उहाँ स्वतः पदमुक्त हुनुभएको छ ।
प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गरेपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।
संविधानको धारा १०१ मा संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने व्यवस्था छ ।
महाभियोग पारित गर्न दुईतिहाइ बहुमत चाहिने भए पनि सत्ता गठबन्धनसँग मात्रै पुग्ने सङ्ख्यामा संसद छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनबिना महाभियोग पारित हुनसक्ने अवस्था छैन ।






