दुई दशक पछि पुनः चलचित्र निर्माणमा डा. भोला रिजाल

काठमाडौं,
माघ ११ ।

एक जमानामा एकसे एक लोकप्रिय चलचित्र दिनुभएको निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः चलचित्र निर्माणमा फर्किनु भएको छ । डा. रिजाल ‘ह्यारीकि प्यारी’ नामक रोमान्टीक कमेडी चलचित्रमार्फत पुनः चलचित्र निर्माणको क्षेत्रमा फर्किनु भएको हो ।

ह्यारीकि प्यारीको सोमवार पर्वतको भुक देउरालीमा मुहूर्त गरी छायाँकन शुरु गरिएको छ । यो चलचित्र ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दै हुनुहुन्छ । लण्डनको दन्त चिकित्सा क्षेत्रमा साँढे दुई दशकदेखि लोकप्रियता कमाउँदै आउनुभएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसक्नु भएको छ भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । फिचर फिल्म भने ह्यारीकि प्यारी उहाँको डेब्यु चलचित्र हो ।

निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म चलचित्रको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ । उहाँका अनुसार युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको थियो भने खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ । पर्वत पुगेर पनि र्‍यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको छ । डा. कपिलले चलचित्र पूरै पारिवारका साथ बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण हुने प्रष्ट्याउनु भयो ।

सुटिङ शुरु गर्नुअघि जितु नेपाल र विजय बरालले मुहुर्त सट दिनुभएको थियो । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उहाँको प्यारीका रुपमा देखिनुहुने छ । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय रहने बताइएको छ ।

चलचित्र डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहने छ । चलचित्रमा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, सङ्गीत शिखर सन्तोष र युग भुसाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार