विजय थापा
भर्जिनिया,
पुस २६ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) द्वारा हरेक वर्ष प्रदान गरिँदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरूबाट निवेदन आह्वान गरिएको छ ।
यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्षभरी प्रकाशित÷प्रशारित सामग्रीको आधारमा योग्य सञ्चारकर्मी उम्मेदवारको शिफारिस गर्न सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्था, सञ्चार जगत, पाठक समुदाय वा स्वयम् उम्मेदवारलाई समेत आह्वान गरेको छ ।
यसैगरी यसै वर्षवाट इन्जाले ग्लोवल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणा अनुसार सञ्चारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ । नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुग्नु भएका अर्थ विज्ञ स्व. डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइने जनाइएको छ । यी पुरस्कारको राशी हरेक विधामा एक हजार अमेरिकी डलर छ ।
साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा शिफारिश गर्न इच्छुक पत्रकारहरूले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरूको लिंक वा भिजुअल प्रति इञ्जाको अफिसियल इमेल injaglobal@gmail.com मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्ने बताइएको छ ।
यी सवै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ । ईन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।






