गीतिसङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक

काठमाडौं,
मंसिर २० ।

शिव पलाँसको गीतिसङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा कृतिबारे बोल्दै डा. कृष्णहरि बरालले भन्नुभयो, शिव पलाँसका गीतमा रुपक, अलंकार, कला र शिल्पको लोभलाग्दो तालमेल छ । योसङ्ग्रहले उनलाई महत्वपूर्ण गीतकारको रुपमा स्थापित गरेको छ ।

त्यस्तै डा. ऋषि बस्ताकोटीले आजकल धेरै गीतहरू सुनेपछी मात्रै गीतहरू जस्ता लाग्छन् भने शिव पलाँसका गीतहरू पढ्दा नै गीत जस्ता छन् र कतिपय गीतहरू त दिमाग खल्बलिने तथा मुटु झस्काउने खालका भएको टिप्पणी गर्नुभयो । रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछि बल्ल गीतकारलाई चिनेको बताउनुभयो । हरिहर तिमिल्सिनाको विचारमा शिवका गीतहरू सुन्ने खालका होईनन् । हेर्ने खालका पनि होईनन् । यि त महसुस गर्ने खालका गीतहरू हुन् । बिष्णुबाबु देवकोटाले शिव पलाँस सस्तो चर्चाको पछि नलाग्ने, सङ्गीतमा देखिएको विकृति माथि औंला उठाउने र सुगम गीतको खेतिमा रमाउने इमानदार किसान भएको धारणा ब्यक्त गर्नुभयो ।

दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, सन्तोष रुचाल, इन्दिरा जोशी, सुमन क्षेत्री, चन्दादेवी, स्वरुपराज लगायतका गायक गायिकाले गाइसकेका गीतहरुमा बी.बी.अनुरागी, अर्जुन पोखरेल, सञ्जु थापा, तेजेन्द्र गुरुङलगायतका सङ्गीतकारले सङ्गीत भरेका गीतहरू पनि पुस्तकमा सङ्ग्रह गरिएको छ ।

कार्यक्रममा नम्रता गुरागाईं, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ सरू, लक्ष्मी थापा, विमल गौतम लगायतले गीतकार पलाँसका मनपर्ने रचना वाचन गर्दै शुभकामना दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा गीतकार पलाँसले आफ्नो गीति लेखनका बारेमा प्रकाश पार्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो गायक तथा सङ्गीतकार सञ्जु थापाले गीत प्रस्तुत गर्नुभएको थियो ।

विमोचित कृतिको प्रकाशन आवरण प्रकाशनले गरेको हो । पुस्तकको वितरण पाल्पा बुक्स बागबजारले गरेको छ । गोवर्ध्दन पूजाले सञ्चालन गर्नुभएको कार्यक्रम दुइ घण्टा चलेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार