प्रज्ञाद्वारा युगकवि सिद्धिचरणका बालकविता प्रकाशित

काठमाडौं,
कात्तिक २२ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘युगकवि सिद्धिचरणका बालकविता’प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा-प्रतिष्ठानले यस कृतिमा युगकवि सिद्धिचरण श्रेष्ठका फुटकर रूपमा छरिएर रहेका, विभिन्न कृतिहरूमा प्रकाशित तथा अप्रकाशित अवस्थामा रहेका ४७ओटा बालकविताहरू लाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । डा. फणीन्द्रराज निरौलाको सम्पादनमा तयार भएको यस कृतिमा युगकवि सिद्धिचरणको बालकविता लेखन सम्बन्धी जानकारीका साथमा सम्पूर्ण बालबविताहरूको प्रवृत्तिगत विश्लेषण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजना अन्तर्गत तयार गरिएको यस कृतिले युगकविको बालकविता लेखन यात्रा, बालकवितागत प्रवृत्ति र उहाँका बालकविताप्रति चासो राख्ने जो कोही लाई बौद्धिक खुराक प्रदान गरेको छ । सिद्धिचरणका सम्पूर्ण बालकविताहरू एकै ठाउँमा समेटिएका हुनाले यो कृति सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धाता, विभिन्नतहमा शिक्षण गर्नुहुने शिक्षक एवम् प्राध्यापकवर्ग लगायत सबै उमेर समूहका बालकविताका पाठकहरूका लागि उपयोगी हुने देखिन्छ । बालसाहित्य अन्तर्गत पर्ने सबै सैद्धान्तिक सामग्री र सम्पूर्ण विधाहरूको अनुसन्धान, सङ्कलन र सम्पादन गरी क्रमशः प्रकाशनगर्दै जाने विभागीय परियोजना अन्तर्गत यसभन्दा अगाडि नै १०१ जना कथाकारहरूका बालकथाहरू समेटिएको ‘प्रज्ञा नेपाली बालकथा’, १०७ जना गजलकारहरूका दुई दुईओटा बालगजलहरू समेटिएको ‘प्रज्ञा नेपाली बालगजल’ जस्ता बालउपयोगी कृतिहरू प्रकाशन भइसकेका छन् भने २०७६ सालदेखि बाल बालिकालक्षित अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ पनि नियामितरूपमा प्रकाशनहुँदै आएको छ । यसका साथै ‘प्रज्ञा नेपाली बाल निबन्ध’ र ‘प्रज्ञा नेपाली बालगीत’ कृतिको सङ्कलन र सम्पादन कार्य सम्पन्नभई प्रकाशन हुन लागेको र हाल सातै प्रदेश, भारत, बर्मा र डायस्पोरासमेत समेटिने गरी नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्य सुरु भएको र यसै वर्ष उक्त कृतिप्रकाशन गरिने योजना रहेको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले पछिल्लो समयमा प्रज्ञा–प्रतिष्ठान बालबालिका लक्षित सामग्रीहरूको प्रकाशन कार्यमा योजनाबद्ध रूपमा लागेको र अबको एक वर्षमा तदनुकूलका केही विशेष कामहरू सम्पन्नहुने विश्वासमेत व्यक्तगर्नुभएको छ ।

युगकविको समग्र बालकवित्वलाई चिनाउने १७२ पृष्ठ र २१०मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्तगर्न सकिने छ ।

यसमा तपाइको मत

अन्य समाचार