‘गोर्खा वारियर-२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

काठमाडौं,
कात्तिक २२ ।

चलचित्र ‘गोर्खा वारियर-२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएकोमा एक सय भन्दा बढी सहभागिबाट ३४ जना चयन गरिएको हो । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरिको हो ।

यो चलचित्रको छायाँकन कोभिड-१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । अब बाँकी छायाँकन अब सिन्धुलीदेखि सुरु हुने चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले बताउनुभयो । त्यसपछि बाँकी छायाँकनको लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेशिया लगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चम्सले जानकारी गराउनुभयो ।

चलचित्रको छायाँकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केही प्राविधिक सामाग्री दशैँ अघि नै नेपाल आईसकेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई हुनुहुन्छ ।

गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ ।

चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफूले गोर्खा वारियर-२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताउनुभयो । अब सिनेमा हलमा पनि गोर्खा वारियर–२ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।

यसमा तपाइको मत

अन्य समाचार