पेशल आचार्य
रामेछाप, मन्थली
असोज १५ ।
अचेल किन देश
देश जस्तो छैन
पूरै मुहार फेरिएको छ
पूरै व्यवहार बद्लिएको छ
देशले सोचे जस्तो
नायक पाउन सकेन
देशले खोजे जस्तो
वीर भेट्टाउन पनि सकेन
देश अचेल झोक्राएको छ
देश अचेल मुर्झाएको छ,
देशले आफ्ना होनहार नौजवानलाई
काम र मामदिन सकेन
त्यसैले तिनीहरू पलायन भए
विदेशीका करिया भए
विदेशी भूमि सिँचित गर्न गए
उनीहरूलाई विदेश जान मन रत्तिभर छैन
उनीहरूलाई विदेशीको दास हुन
किञ्चित पनि रहर छैन
तर के गर्नु
देशलाई हाँक्ने ड्राइभरहरू बेइमान भए
देशलाई चलाउने अभियन्ताहरू लोभी पापी भए
देशले आफ्नो काँचुली कहिल्यै फेर्न पाएन
देशले आफ्नो हँसिलो अनुहार कहिल्यै देखाउन पाएन,
चुपचाप छ अहिले
मेरो देश
गुमसुम छ अहिले
मेरो देश
देशले आफू देश भएको महसुस गर्न
अझै सकेको छैन
देशले आफू निर्बन्ध भएको सोच्न
अझै पाएको छैन
नेताहरू सबै-सबै एउटै भए
कोही कसैमा अनुकरणीय हुन सकेनन्
जुन जोगी आएपनि कानै चिरिएका भने झैँ भए
कसैले पनि देशको बेथा बुझ्न सकेनन्
कसैले पनि देशको रोग पहिल्याउन सकेनन्
सबैले सकेको शोषण गरेकै छन् देशलाई
सबैले आफ्नो तर्फबाट धोका दिएकै छन् देशलाई,
कठै ! मेरो देश
एकान्तमा धुरूधुरू रून्छ
कसैलाई केही गुनासो गर्दैन
कसैलाई केही फिराद पनि सुनाउँदैन ।।






