प्रदर्शनको तयारीमा ‘हिजो आजका कुरा’

काठमाडौं,
असोज २ ।

चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागीपरेको छ । चलचित्रका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अबसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना ब्यक्त गर्दै आफूहरू चलचित्र रिलिज गर्न आतुर रहेको बताउनुभएको हो ।

प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचारप्रशारलाई तीव्रता दिदै गर्दा ०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ । ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यसकारण हलसंचालक, बितरकहरूसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्नुहुन्छ, ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ ।’ चलचित्र बिकास बोर्ड, हल संचालक, बितरक, दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफुहरू अघि बढ्न तयार रहेको उहाँ बताउनुहुन्छ । उहाँले केही दिनमै चलचित्रको प्रदर्शन मिति तय हुने जानकारी दिनुभएको छ ।

‘हिजो आजका कुरा’ ०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रशार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशब्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरू संचालनमा आउन सकेका छैनन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, नराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

रवि सायमीले खिचेको चलचित्रमा सन्दीप किस्नाको पटकथा छ । चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र हुनुहुन्छ । चलचित्रको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै दुई करोड ४० लाख पटक हेरिसकिएको छ ।

 

 

 

यसमा तपाइको मत

अन्य समाचार