‘स्याउला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज २ ।

विष्णु माझीको स्वरमा रहेको गीत ‘स्याउला’ सार्वजनिक भएको छ । शक्ति चन्दले ‘स्याउला’मा विष्णु माझीलाई स्वरमा साथ दिनुभएको छ । चन्द्र परियारको शब्द तथा सङ्गीतमा रहेको गीत ‘स्याउला’लाई एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा ‘स्याउला’ गीतको अडियो भिडियो सार्वजनिक गरिएको थियो ।

म्युजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा गायक शक्ति चन्दले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा सङ्गीत रोयल्टी संकलन समाजका सदस्य गीतकार बी.पाण्डे को विशेष आतिथ्यता रहेको थियो भने स्याउला गीतका मोडल करिश्मा ढकाल, अभिषेक श्रेष्ठ, निर्देशक राज कुमार मगर लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गीतकार तथा पत्रकार सुमन बैरागीले गर्नुभएको थियो ।

‘स्याउला’ गीतको अडियो भिडियो सार्वजनिकसँगै शुभकामना मन्तव्य दिँदै गीतकार बी.पाण्डेले ‘स्याउला’ शीर्षकले आफूलाई एकपटक गाउँतर्फको यादहरू सम्झाएको बताउनुभयो । उहाँले हराउँदै गएको मौलिक शब्दहरूलाई गीतमार्फत बजारमा सार्वजनिक गर्नुले पनि गीतको सफलता भएको बताउनुभएको थियो । त्यसैगरी प्रतिष्ठानकी केन्द्रीय सदस्य चर्चित गायिका देवी घर्तीले गीतको सफलताको शुभकामना दिनुभयो ।

त्यस्तै प्रमुख अतिथि चन्द्र शर्माले गीतले करोडौं स्रोता दर्शकको माया पाउने बताउँदै शक्ति चन्द गीतसङ्गीतमा लामोसमयदेखि क्रियाशील रहेको लोकप्रिय सर्जक भएकाले सबैको माया पाएको बताउनुभयो । शक्ति चन्द गायनको क्षेत्रमा स्थापित नाम भएर पनि लोकसङ्गीतमा जीवन समर्पण गरेको व्यक्ति भएकै कारण ‘स्याउला’ गीतको मौलिक भाकाले अझै उहाँलाई चिनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मोडल करिश्मा ढकालले गीतको भिडियोमा आफूले निकै मेहनत गरेको र भिडियो पनि राम्रो बनेको बताउँदै सबैले माया गरिदिनुहुनका लागि आग्रह गर्नुभयो । त्यस्तै मोडल अभिषेक श्रेष्ठले पनि आफूले सकेको मेहनत गरेको कारण सबैको माया पाउनेमा विश्वस्त रहेको बताउनुभयो । भिडियोका निर्देशक राजकुमार मगरले पनि गीत अनुसार भिडियो निर्माण गरेको बताउँदै सबैले माया गरिदिन अनुरोध गर्नुभयो ।

गीतको सङ्गीत संयोजन कृष्ण वि.क. भान्जाको रहेको छ भने मिक्सिङ कुमार रानाको छ । भिडियोको छायाँकन करण चैंसिरको छ भने सम्पादन तथा कलरको काम निर्देशक राजकुमार मगरले नै गर्नुभएको छ । भिडियोलाई गायक शक्ति चन्दको अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार