काठमाडौं,
भदौ १७ ।
चलचित्र ‘गोर्खा वारियर-२’को बाँकी छायांकन आगामी अक्टोबर १९ बाट सुरु हुने भएको छ । कोभिड-१९ र अन्य प्राविधिक कारण चलचित्रको सुरुवाती भाग छायांकन गरेर निर्माण टिमले बाँकी भागको छायांकन रोकेको थियो ।
निर्देशक मिलन चाम्सले लकडाउन खुलेको र लण्डन तथा भारतदेखि आउनुपर्ने प्राविधिक सामाग्री आगामी दुई हप्ताभित्रै नेपाल आइपुग्ने भएकाले बाँकी भागको छायांकनको समय तोकिएको बताउनुभयो ।
मिलनले गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई चलचित्रमा उतार्न लागिएको जानकारी गराउनुभयो । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सह–निर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू हुनुहुन्छ । चलचित्र नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।
चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहनेछ ।
रितेस चाम्स नवनायकका रूपमा यो चलचित्रमार्फत डेब्यु गर्दैहुनुहुन्छ । चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।






