काठमाडौं,
भदौ १६ ।
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि लगाइएको निषेधाज्ञा करिब पाँच महिनापछि खुकुलो बनाइएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको बुधबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बैठकपछि जारी आदेशमा उल्लेख छ ।
विद्यालय सञ्चालनको हकमा भने नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
अब पसल, रेष्टुरेन्ट, होटललगायतका व्यवसायहरू पनि सञ्चालन गर्न पाइने भएको छ । तर, भिडभाड हुने गतिविधि गर्न भने निषेध गरिएको छ । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ ।
स्थानीय ढुवानीको हकमा विहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजे सम्म गर्न पाइने जनाइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी भने बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म गर्न पाइने व्यवस्था मिलाइएको छ ।






