चेतन कार्की प्रतिष्ठान स्थापना

काठमाडौं,
भदौ १५ ।

वरिष्ठ गीतकार, कवि तथा फिल्म निर्देशक चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो।

वरिष्ठ फिल्मकर्मी तथा नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ फिल्मकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारश कार्की र पंकज कार्की रहनुभएको छ भने प्रतिष्ठानको तदर्थ समिति सदस्यमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, कलाकार रविन्द्र खड्का र कवि दिव्य गिरि हुनुहुन्छ ।

प्रतिष्ठानको कार्यालय ललितपुरस्थित चेतनकै घरमा रहने छ । हीरासिंहको नाममा उहाँले स्थापना गरेको पुरस्कारलाई निरन्तरता दिने तथा चेतनको नाममा सम्मान र पुरस्कार स्थापना गर्ने, उहाँका प्रकाशित पुस्तक र सम्मानपत्रको संरक्षण गर्ने र अप्रकाशित कृति तथा रचना प्रकाशन गर्नेलगायत उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको बताइएको छ ।

कार्कीको नेपाली साहित्य तथा चलचित्र क्षेत्रमा अविस्मरणीय योगदान छ। चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतनको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो। उहाँले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ हो भने ‘भूमरी’ दोस्रो तथा ‘पहिलो प्रेम’ अन्तिम हो।

यसैगरी उहाँका रचनामा ‘परिवर्तन’, ‘आत्मा बेचेको छैन’, ‘हनिमून’, ‘ढलेको गिलास’ जस्ता उपन्यास तथा ‘कल्पना टूट चुकी है’ (कविता–हिन्दी र उर्दू) सहित ‘जून निदाउन थाल्यो’ (कविता र गीति संग्रह), ‘माया प्रीतिको चोखो कथा’ (गीत संग्रह), ‘हत्केलाले सधैंभरी सूर्य छेकिँदैन’ (मुक्तक संग्रह), ‘हो देश मेरो पनि’ (गजल संग्रह), ‘बसि बियाँलो’ (कथा संग्रह), ‘दिल जिगर के टुकडे’ (उर्दू मुक्तक) रहेका छन् ।

चेतनको पहिलो नाटक ‘आत्मा बेचेको छैन’ हो भने पहिलो उपन्यास पनि ‘आत्मा बेचेको छैन’ नै हो। यसैगरी पहिलो गीत संगीत नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको ‘दाइलाई बोलाउ भने लेक स्वर पुग्दैन’, ‘बोलाइरहन हुँदैन’ हो।

विसं २०१७ देखि नै नेपाली रंगमञ्चमा प्रवेश गर्नुभएकाका चेतन फिल्ममा भने ०२५ सालमा आबद्ध हुनुभएको थियो । उहाँले रचना गरेका दर्जनौं गीत अत्यधिक लोकप्रिय छन्। तीमध्ये ‘तीजको रहर आयो बरी लै’ सर्वाधिक लोकप्रिय छ। उहाँले ‘माया प्रीति’, ‘कान्छी’, ‘कन्यादान’सहित धेरै फिल्मका लागि गीत रचना गर्नुभएको छ ।

यस्तै शाह वंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्यलगायत दर्जनौं नाटक पनि उहाँका रहेका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार