काठमाडौं,
भदौ १४ ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । संसारभरका हिन्दू धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं कृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।
यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा भगवान कृष्णको पूजा गरिने र देशभर विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ । तर, कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण स्थगित गरिएको छ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष पनि अघिल्लो वर्षझैँ मठमन्दिर खुलेका छैनन् । तथापि यो वर्ष पनि भक्तजनहरु मन्दिरका गेटसम्म पुगेर भगवान श्रीकृष्णको दर्शन गरिरहेका छन् । कयौँले घरमै भगवान श्रीकृष्णको पूजाआजा गरिरहेका छन् ।
कृष्णजन्माष्टमीमा यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।






