चन्द्रागिरिमा कवि र कलाकार

काठमाडौं,
भदौ ७ ।

छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकामारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार । जताततै मनमोहक हरियाली प्रकृति । यति भएपछि के चाहियो र कवि/कलाकारलाई ! कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सिर्जना गर्न थाले । चित्रकलाकारहरू आँखाअगाडिको मनमोहक सुन्दर प्रकृतिलाई क्यानभासमा उतार्न थाल्नुभयो । त्यसलगत्तै उहाँहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर आफ्ना चन्द्रागिरि–सिर्जना सुनाउनुभयो । यसरी भदौ महिनाको सुरुवातसँगै शुक्रबार चन्द्रागिरि पुगेका करिब दुई दर्जन स्रष्टा/सर्जकहरू यसरी नै शनिबार मध्याहृनसम्म चन्द्रागिरिको सुन्दर सानिध्यमा रहे ।

राजनीतिक व्यस्तताबीच सामाजिक अभियन्ता तथा लेखिका पत्नी राधिका शाक्यका साथमा कवि÷कलाकारहरूका सिर्जना सुन्न तथा हेर्न चन्द्रागिरि पुग्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मन पनि कविता नलेखी बसिरहन सकेन । उहाँले कार्यक्रमस्थलमै बसेर कविता सिर्जना गरेर सुनाउनुभयो-

इच्छुमतिको किनार, घुमेर भिराडिल
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल,
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरूमा सतीदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरू उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौंलाई नियालेका थिए…
त्यहीँ पर फाखेलको धारामा
देवकोटाले मानवताको बिगुल फुकेका थिए….।

यसरी रैथाने कला, संस्कृति, सम्पदा र सभ्यताको खोजी तथा सिर्जनामा तिनको प्रयोगसम्बन्धी अभियान चलाइरहेको ‘जेसुम अभियान’ ले चन्द्रागिरि नगरपालिका–१५ नम्बर वडासँगको सहकार्यमा चन्द्रागिरि हिल्समा आयोजना गरेको भिराडील-चन्द्रागिरि जेसुम उत्सव तथा कविता कलामय बन्यो । नृत्यांगना संगीता लामाको मनमोहक स्वागत–नृत्यबाट सुरु भएको उक्त उत्सवमा पूर्वप्रधानमन्त्री ओलीसहित प्रगतिशील लेखक संघका अध्यक्ष प्राडा.जीवेन्द्रदेव गिरि, वासुदेव अधिकारी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बू, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अनिता लामा, सुरेश हाचेकाली, स्नेह सायमी, प्रकाश सिलवाल, प्रशान्त डंगोल, गणेश बुढा, श्रुति माली, सगरमाथा आरोही देउराली चाम्लिङ लगायतका कविहरूले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कला प्रस्तुत गर्नुभएको थियो । श्रुति मालीले त आकर्षक नृत्यसमेत प्रस्तुत गर्नुभएको थियो ।

चित्रकलाकारहरू प्राज्ञ लालकाजी लामा, नेमबहादुर तामाङ, एनबि गुरुङ, दीपेन्द्र बनेपाली, बाबु साइँला, विनिता बुद्धाचार्य, चन्द्रा श्रेष्ठ र रूपा श्रेष्ठले स्थलगत रूपमा सिर्जना गरेका कलाकृति कार्यक्रम हलमै प्रदर्शनी गरिएको थियो । मण्डला थिएटरका कलाकार राजन खतिवडा र सरस्वती चौधरीले चौतारी नाटक प्रस्तुत गर्नुभएको थियो ।

उत्सवका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कविहरूका काव्य सिर्जना र कलाकारका कलाकृतिको उच्च प्रशंसा गर्दै आफ्ना कविता र कलाकृतिमार्फत् सामाजिक रूपान्तरण र मुलुकको समृद्धिका लागि योगदान गर्नु प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुयो । उहाँले अरूका रचना सुनेपछि आफूमा अझ समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदैै समाज निस्सासिएका बेला आफूलाई सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशा लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी सहभागी भइसकेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालीका आकांक्षाको प्रतिविम्बनको पुनःजागरण सुरु भएकाले कुनै राजनीतिक हेरफेर वा विवादले यस यात्रालाई केही पछाडि धकेल्न खोजे पनि कसैले रोक्न नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओली चन्द्रागिरिमा पुग्दा चन्द्रागिरि हिल्सका प्रबन्धसञ्चालक हेमराज ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहलगायतले उहाँलाई भव्य स्वागत गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री ओलीले त्यसअघि चन्द्रागिरि–१५, तीनथानाको खोलाको किनारामा निर्माणाधीन भिराडिल-खाइके साकुरा पार्कको अवलोकन गरी वडाध्यक्ष शैक्षिक विकास कोषमा एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका-१५ का अध्यक्ष ईं.उत्तमबहादुर राउतले समृद्धिको नमुनाका रूपमा वडालाई विकसित गर्न पूर्वाधारका साथै कला, संस्कृति र सम्पदाका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा जेसुम अभियानसम्बन्धी अवधारणपत्र प्रस्तुत गर्दै जेसुम अभियानका अभियन्ता फूलमान वलले रैथाने कला, संस्कृति, सम्पदा र सभ्यताको खोजी तथा सिर्जनामा तिनको प्रयोग हेतु अभियान चलाइरहेको ‘जेसुम अभियान’ले राष्ट्रिय पहिचानमा आधारित जनताको बहुदलीय जनवाद तथा प्रगतिशील राष्ट्रिय संस्कृति निर्माणका लागि मुलुकका विभिन्न स्थानमा साहित्य–कला अभियान सञ्चालन गर्दै आएको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले आफ्नै मौलिक ज्ञान परम्परा, विश्वास पद्धति र विश्व दृष्टिकोणको आधारमा वस्तु, पदार्थ या परिस्थितिको व्याख्या गर्न अग्रसर भएका छौं । मुलुकको वास्तविक समृद्धि यसैमा निहित छ ।’

जेसुम अभियानकी मुख्य अभियन्ता कवि अनिता लामाले रैथाने सौन्दर्यको खोजी नै जेसुमको मुख्य उद्देश्य रहेको बताउनुभयो । अभियन्ता लामाले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रा.केशव सुवेदी, राजु महत, श्रृति माली, माधवजंग केसी, मनोहरि आचार्य, कृष्णदेव आचार्य, भिराडिल-खाइके साकुरा पार्कका अध्यक्ष लोकनाथ सिलवाल, किरण पौडेललगायत स्थानीय तथा जनप्रतिनिधिले चन्द्रागिरि नगरपालिकले वडा नम्बर-१५ का विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।

शुक्रबार अपराहृन सुरु भएको ‘भिराडिल–चन्द्रागिरि जेसुम उत्सव’ सहभागीका अनुभव तथा अनुभूतिका अदानप्रदानसँगै भावी दिनमा अभियानलाई के-कसरी प्रभावकारी रूपमा अन्यत्र विस्तारित गर्दै लैजान सकिन्छ भन्ने विषयमा गहन विमर्शका साथ शनिबार सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार