डा. डीआर उपाध्याय
काठमाडौं,
भदौ ४ ।
राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरू मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफैँ सत्तामा जाने दाउ नेताहरूले खेलिरहेका छन् । हिजो पनि त्यही अबस्था थियो आज पनि त्यही छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यही भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुादा दलहरु आफैँ कमजोर हुँदै गएका छन् । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन ।
राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन् । कारण के हो भने दल र तिनका नेताहरू बेइमान भए । जनतालाई ढाँटे । आफैँ धन सम्पति थुपारे । देशलाई खोक्रो बनाए । देशका सामु धेरै समस्या छन् तर ति समस्या प्रति उनीहरू गम्भिर भएनन् । नेताहरूले पार्टीलाई सहि ढङ्गले चलाउन सकेनन । हरेक पार्टीमा समस्या छ । यसले गर्दा राजनीतिक दलमा लाग्नेहरू ज्यादै व्यक्तिवादी बन्दै गए । यसरी राजनीतिक दलहरूचल्दैनन् । संविधान, ऐन, कानुनको परिधिभित्र रहेर कुनै दलले काम गर्न सकेनन् । नेताहरूबीच ‘इगो’, बढदै गयो । त्यसले गर्दा नै दलहरू फुट्छन् ।
नेतृत्वले सिद्धान्त, अनुशासन, देश र जनतासँग गरेका प्रतिबद्धताको बेवास्ता गर्दै आएका छन् । व्यक्तिवादी ढङ्गले अगाडि बढ्न खोजेका छन् । अहिले नेताहरू सिद्धान्तप्रति नै प्रतिबद्ध भएनन् । पार्टीहरूसँग अहिले सिद्धान्त नै छैन भने पनि हुन्छ । अहिले कुन दलसँग के सिद्धान्त छ ? अहिले उनीहरू भ्रष्ट र विकृत अवस्थामा पुगेका छन् । बोलेका कुरा व्यवहारमा केही पनि भएन । सिद्धान्तमा आधारित भएर जिम्मेवारीबोधका साथ राजनीति गर्न भन्दा पनि ब्यक्तिगत स्वार्थका लागि राजनीति भयो ।
नेतृत्वको खालि निर्वाचन जित्ने, सङ्ख्या पुर्याउने र सरकार बनाउने मात्र सोच हाबी भयो । नेताहरूमा पद र सत्ता बाहेक अरु केही देखिएन । संसदको अधिवेशन अन्त गर्ने अनि लगत्तै अध्यादेश ल्याउने यो विकृत राजनीतिक अभ्यास हो । अध्यादेशले एमाले फुटाल्यो, जसपा फुटाल्यो अब कुन कुन दल फुटाल्ने हो कुनै ठेगान छैन । अहिले कुनै पनि दलका नेताको कार्यशैली हेर्दा व्यक्तिगत स्वार्थ प्रेरित मात्र देखिन्छ । यो लोकतन्त्रका लागि घातक छ । कुनै पनि पार्टीका नेताको लोकतन्त्रप्रति प्रतिबद्धता देखिँदैन ।
चुनावी प्रतिस्पर्धा स्वच्छ हुन सकेन । बढी पैसा खर्च गर्ने, चुनावमा जसरी हुन्छ जित्ने र संसदमा आफ्नो सङ्ख्या पुर्याएर सरकार गठन गर्ने अनि जसले भोट दिए तिनैमाथि बेइमान गर्ने संस्कार बढेर गएको छ । लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन । लोकतन्त्रमा संसदलाई सक्रिय बनाउनु पर्दथ्यो । त्यसो गरिएन । नेताहरूको गलत क्रियाकलापले गर्दा लोकतन्त्र कमजोर हुँदै गइरहेको छ । हाम्रो राजनीतिक क्रियाकलाप सुखद छैन ।






