काठमाडौं,
भदौ ३ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा पुनर्निर्माण हुन लागेको काठमाडौं महानगरपालिका-३०, मैतीेदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ ।
बिहीबार मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । शिलान्यासअघि मैतीदेवी मन्दिरमा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट क्षमापूजासमेत गरिएको थियो ।
‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन पुनर्निर्माण कार्यको शिलान्यास समारोहमा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल, प्राज्ञ सभाका सदस्यहरू, कामनपा-३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि देवकोटाका पुत्र डा. पद्मप्रसाद देवकोटा, माइली छोरी अम्किादेवी रिमाललगायतका परिवारजन र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । उपप्रा. ज्योतिषी हरिप्रसाद पौडेल र उपप्रा. केशवशरण अर्यालले शिलान्यास समारोहमा वैदिक विधिअनुसार पूजा कार्य सञ्चालन गर्नुभएको थियो ।
महाकवि देवकोटाको भवन भत्काउँदा यसको मौलिकपन विनाश हुने चिन्ता पनि साहित्यप्रेमीहरूले प्रकट गरिरहेका छन् ।






