काठमाडौं,
भदौ ३ ।
नेपालमा बिहीबार तीन हजार बढीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार देशभरिका प्रयोगशालामा भएको परीक्षणमा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पिसिआर परीक्षणमा २ हजार ३२१ जनामा पुष्टि भएको छ । यस्तै, ४ हजार ४९२ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार दुई हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुने को संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा तीन हजार ३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
बिहीबार थप ३३ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ ।






