कविता : यहाँ रङ फेर्नेहरु हजारौं छन्

✍️ पेशल आचार्य
काठमाडौं,
भदौ ३ ।

यहाँ रङ फेर्नेहरु हजारौं छन्
हामी छेपारालाई मात्र दोष दिन्छौं
न बोल्छ न प्रतिक्रिया
न हाँसी न खुसी
हामी प्वाक्क भन्छौं
यो त छेपारो पो भएछ
यसरी अन्याय अब
छेपारालाई मात्र गरिरहनु हुँदैन
यहाँ रङ फेर्नेहरु हजारौं छन्
हामी छेपारालाई मात्र दोष दिन्छौं,

अहिले बधाईका वर्षा भएका छन्
यतिखेर शुभकामनामा बाढी आएका छन्
मानिसहरु फुटेर जाँदापनि
मानिसहरुले लुटेर जाँदापनि
हामी कसैलाई सत्तोसराप गर्न सक्दैनौं
किनकि मौकापर्दा हामी सबै
छेपारो हुन खोज्छौं
खासमा मान्छेले मान्छेलाई भनेको हो छेपारो
विम्बमा यहाँ
तर बुझेपनि बुझ पचाएर हरेक मान्छेहरु
हिजोपनि ती कुनै न कुनै रुपमा
छेपाराहरु नै थिए
आजपनि ती कुनै न कुनै रुपमा
छेपाराहरु नै छन्
मात्र हिजो र आजको
लोली फेरिएको छ
बोली फेरिएको छ
यो फेरिएको लोली र बोलीमा
बरु छेपाराहरु सर्वमान्य लाग्छन्
बरु छेपाराहरु नै सर्वशक्तिमान जँच्छन्,

म अहिले मानिसको भाँतीमा
खाने, हिँड्ने, बोल्ने, हाँस्ने, सन्तान जन्माउने
फुट्ने, जुट्ने र छुट्टै बस्न खोज्ने
मानिस आकृतिका खोल ओढेर हिँड्नेलाई
मानिस कम र छेपारा बर्ता देख्छु
म आजकाल मेरो गाउँ, समाज र देशमा
मानिसको परिचयमा
मानिस कम र छेपारा बढी भेट्छु,

यस्तो छ हाल अनि
हामी छेपारालाई दोष दिएर
आफू पानी माथिको ओभानो हुन खोज्छौं ।।

यसमा तपाइको मत

अन्य समाचार