काठमाडौं,
भदौ १ ।
काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक भएको छ । डा.नरेश शाक्य, स्वस्ति राजभण्डारी र सञ्जय शाक्यद्वारा लिखित र प्रा.डा.शंकर थापाले सम्पादन गरेको पुस्तक ‘नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एण्ड स्टोन आर्ट अफ नेपाल मण्डला’ को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच विमोचन गर्नुभयो । पुस्तकमा काठमाडौंमा उपत्यकामा विकास भएको कलाका बारेमा चर्चा गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले पुस्तक खोज अनुसन्धान गरेर ल्याएकाले सबै लाभान्वित हुने विचार व्यक्त गरर्नुभयो । उहाँले नेपाली परम्परागत मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा यो पुस्तकको महत्व विशिष्ट रहनेमा आफू आशावादी रहेको सुनाउनुभयो ।
लेखक स्वस्ति राजभण्डारीले नेपालमा विकास भएको कला परम्परा चिनाउनका लागि पुस्तक निकै उपयोगी हुनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली पौभा कलाको शैली र त्यसका बारेमा पुस्तकले धेरै नै जानकारी दिन सफल हुनेछ ।’ राजभण्डारीले नेपाली कलाको ऐतिहासिक परम्पराको खोज अनुसन्धानसँगै तिनका बारेमा जानकारी दिन पुस्तक सफल हुने धारणा राख्नुभयो ।
अर्का लेखक सञ्जय शाक्यले नेपाली प्रस्तर मूर्तिकलाको विकास र परम्परालाई पुस्तकमा चित्रण गरिएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालमा नेपाली कलाको बारेमा अध्ययन गर्नुपरेमा विदेशीको भर पर्नुपर्ने अवस्था रहेको जनाउँदै त्यसलाई कम गर्नका लागि पनि खोज अनुसन्धानमा बढी जोड दिनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘मौलिकता बोकेको नेपाली कला सही ढंगले बाहिर आउन सकेको छैन । त्यसलाई सही ढंगले बाहिर ल्याइ मौलिक कलाको विकास, संरक्षण र प्रवद्र्धनमा हामीले ध्यान दिनुपर्दछ । यसो हुनसक्यो भने हामीले हाम्रो मौलिक परम्परा बोकेको कलालाई विश्वमा चिनाउन सक्छौं ।’
अर्का लेखक डा. नरेश शाक्यले तीनैजना लेखकले मिहिनेत गरेर पुस्तक प्रकाशन गरेको सुनाउनुभयो । उहाँले भुटानदेखि लद्दाखसम्म तिब्बतसँग जोडिएको हिमालय क्षेत्रमा फैलिएको तिब्बती कलामा नेपाली कला परम्पराको प्रभाव रहेको जिकिर गर्नुभयो । उहाँले ती कलाको तुलनात्मक अध्ययन गर्दै नेपाली नेवार कलाको पहिचान र प्रभाव तिब्बती कलामा परेको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कला परम्परामा बुझ्नलाई पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्र्नुभयो, ‘काठमाडौं उपत्यकामा विकास भएका कला र तिनको परम्परासँग सम्बन्धित विषयका कारण पुस्तक निकै महत्वपूर्ण लागेको छ ।’ उहाँले पुस्तकले नेपाली कलाको ऐतिहासिक विकासक्रम र त्यसका विविध शैली बुझ्न निकै सघाउँ पुग्ने बताउनुभयो ।
प्रतिष्ठानका प्राज्ञ तथा हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले नेपालको कलाको चिन्तन, शैली, परम्परा र ऐतिहासिक सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई नियाल्नका लागि पुस्तक निकै उपयोगी रहेको बताउनुभयो । उहाँले पुस्तक नेपालको कलाको विकासको चरण, विषयवस्तु तथा माध्यमका बारेमा जानकारी सफल रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकमा प्रस्तर मूर्ति, चित्रकला तथा यसका शैली र आयामलाई केलाइएको छ ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागले प्रकाशन गरेको उक्त पुस्तकले नेपाली कला परम्परामा विकास भएका विविध शैली, माध्यम र चिन्तनलाई नियाल्न सघाउँ पुर्याएको छ ।






