काठमाडौं,
साउन २७ ।
बुधबार थप तीन हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९०७ जनाको पिसिआर परीक्षणमा दुई हजार ६१६ र पाँच हजार ७४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संख्या सात लाख २३ हजार २९६ पुगेको छ ।
यस्तै वुधबार थप एक हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार २२० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै बुधबार काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६६४, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जना संक्रमित थपिएका हुन् ।
थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।






