पेशल आचार्य
काठमाडौं,
साउन २६ ।
कसैले रोक्दैनन् पहाडको गति
कसैले रोक्दैनन् पहाडको दृढता
के सोच्छन् के गम्छन् खै !
पहाडहरू बीचैमा उठ्छन्,
सृष्टि सङ्गतको
अगम्यधून बजाएर
सभ्यतालाई चारैदिशा अन्माउन
र द्रूतत्तर गति प्रदानगर्न
हिमालहरू तेर्सो भएर सुति दिन्छन्
उच्चाटलाग्दा घमौला
फाँटहरूका हरिया शश्यशाली फिला तेस्र्याएर
तराईहरू लमतन्न परिदिन्छन्
हिमालको हेराइ
तराईको मुस्कानबीच
पहाडहरू न हाँसो न रुवाइ
मझधारमा परेर नै सही
पहाडहरू बीचैमा उठ्छन्,
टाकुराका चुली चुच्चाहरू
हिमालका कोण प्रतिकोणहरू
अतीव आल्हादित बन्छन्
सुखान्त प्रेमिल पनि हुन्छन्
काप कापबाट चुहिएर तप्प तप्प पानी
नीला नदी बन्छन्
गहिरा नदी बग्छन्
ताल हुन्छन्
झरना बन्छन्
यी सबै-सबै चित्रमय शुरुआतका क्षणमा
पहाडहरू बीचैमा उठ्छन्
र अनायासै बसिदिन्छन्,
शताब्दी सहस्राब्दी बितेर गए
फन्फनी फेरो मारिरहेको छ
अझै यो बैँसालु समय
समुद्रको अकण्टक हिस्सीबीच
तराईको मुस्कानमा
हिमालको आड पाएर
किनकिन पहाडहरू बीचैमा उठ्छन्,
सृष्टि धरोहर हेरेर
शिवतत्व मख्ख परेको छ
गौरीका झैँ नग्न अवयवहरू माझ
कुनै षोडषीको उन्नत्त उरोजहरू हुन्
पहाडका चुली थुम्कीहरू
एउटा चित्रकारले आफ्नो क्यानभास रङ्गाउन
वर्षौंदेखि प्रयत्नरत छ
दसकौंदेखि कोसिसरत छ
जीवनको सप्रसङ्ग व्याख्या गर्न
यावत् संकथनहरूकाबीच पनि
नूतन दृश्यहरूका माझ पनि
पहाडहरू बीचैमा उठ्छन्
र अनायाशै बसिदिन्छन् !






