काठमाडौं,
साउन २३ ।
यसवर्षको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले गाइजात्रे प्रस्तुति ‘बालकोटको वार्दली’ सार्वजनिक गर्नुभएको छ । राजनीतिक, आर्थिक, सामाजिकलगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘बालकोटको वार्दली’मा बर्षभरी घटेका बिषयबस्तु जस्ताको तस्तै ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
‘गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसङ्गती औल्याउनु हो’ आशिषले थप्नुभयो ‘त्यहीँ पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’
पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुग्नुभएका आशिषले ‘ बालकोटको वार्दली’ उतैबाट सार्वजनिक गर्नुभएको हो ।
रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा काम गर्नुभएका आशिषको गाइजात्रा कोसेलीमा अर्जुन पौडेलको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ ।
करिव १३ मिनेटको भिडियोसहित सार्वजनिक ‘बालकोटको वार्दली’ व्यङ्ग्यात्मक प्रस्तुति दर्शक तथा स्रोताले मनपराउने अपेक्षा आशिषले लिनुभएको छ ।






