कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कार पत्रकार शक्तिमायालाई

बिदुर,
साउन १५ ।

नुवाकोटकी क्रियाशिल पत्रकार शक्तिमाया तामाङ कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक समाचारहरू संकलन र संप्रेषण गरेबापत यस बर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ । शुक्रवार नुवाकोट सदरमुकाम बिदुरमा आयोजित उत्तरगया दैनिकको चौथो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट तामाङलाई सम्मानित गरिएको हो ।

त्यसक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । बिगत आठबर्षदेखि नुवाकोटको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकार तामाङ विविसि नेपाली सेवाको नुवाकोट संबाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य केसीले सत्ताको भन्दा सत्यको महत्वबोध गर्ने र समाजका बिकृती र बिसङ्गतीहरूको अन्त्यका लागि निरन्तर खवरदारी गर्ने भएकै कारण सञ्चारक्षेत्रलाई राज्यको चौथो अङ्ग मानिएको उल्लेख गर्दे सत्य, तथ्य र निष्पक्ष पत्रकारीताले मुलुकको समृद्धिको आधारशीला तयार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यसक्रममा संबिधानसभा सदस्य एवम् नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले सञ्चार क्षेत्रको बिकास र सञ्चारकर्मीहरूको हकहितका पक्षमा नेपाली कांगे्रस सदैब प्रतिबद्ध रहेको बताउँदै आग्रह र पूर्वाग्रहरहित पत्रकारीताबाट मात्र यस क्षेत्रप्रति सबैको अपनत्व रहने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बिदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दहालले स्थानीयतहहरूको सुदृढीकरण र बिकास निर्माणका कामहरुमा प्रभावकारीता बृद्धी गर्न सञ्चारक्षेत्रको सकारात्मक भुमिका अपेक्षित रहेको बताउँदै जिल्लाका सञ्चारमाध्यमहरूको प्रबद्र्धन र सञ्चारकर्मीहरूको क्षमता अभिबृद्धीका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

त्यसक्रममा नेपाली काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, माओवादी केन्द्रका सचिवालय सदस्य पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट अध्यक्ष कुलबहादुर खड्गी, नुवाकोट कांग्रेसका प्रबक्ता राजु थापा, महिला अधिकारकर्मी बिन्दा अर्याल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरू सुनिल खड्का र ध्रुबकुमार रावल, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, प्रदेश सदस्य रामहरि गजुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, उत्तरगया दैनिककी सञ्चालिका गीता अमात्य, पर्यटन होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका बागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेती, नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, प्रेस चौतारीका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका अध्यक्ष नवराज सुबेदी, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेब दाहालले सञ्चारक्षेत्रमा देखिएका समस्या, चुनौति र समाधानका उपायहरू तथा समाज बिकासमा सञ्चारक्षेत्रसँग अपेक्षित भूमिकाहरूका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार