काठमाडौं,
साउन १४ ।
कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गर्नुभएको छ । उक्त चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रम गरेर ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो चलचित्र अहिलेको समयमा हलहरू बन्द रहेकाले ‘ओटीटी प्लेटफर्म’ मा प्रदर्शन हुने बताइएको छ ।
हास्य टेलिशृंखला मेरी बास्सैमा भूमिका निभाउनुभएका धुर्मुस र सुन्तलीको भूमिका नै यस चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा दुवैजनाको वैवाहिक जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सिताराम र कुञ्जना ‘मेरी बास्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस–सुन्तलीकै भूमिका र गेटअपमा देखिनुभएको छ ।
तराईका विभिन्न स्थानमा खिचिएको चलचित्र सुदीप बरालले छायाँकन गर्नुभएको हो । चलचित्रको लेखन र निर्देशन धुर्मुस–सुन्तलीले संयुक्तरूपमा गर्नुभएको हो । चलचित्रमा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको स्क्रिनप्ले र डाइलग धुर्मुस र सुन्तलीकै हो ।
मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । फिल्मले दर्शकलाई निराश नबनाउने कुञ्जना बताउनुहुन्छ । सुरुमा वेब सिरिजका रूपमा ‘म त मर्छु कि क्या हो’ को निर्माण गरिए पनि पछि मेकिङ उत्कृष्ट भएपछि वेब फिल्म बनाएको उहाँको भनाइ छ । यो चलचित्र ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । तर, रिलिज हुने मिति भने घोषणा गरिएको छैन ।
धुर्मुस-सुन्तलीको नेतृत्वमा अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ भने अभिनयलाई पनि सँगै अगाडि बढाइरहनुभएको छ ।






