प्रेमध्वजको ‘ती आँखामा…’को प्रतिष्पर्धामा एघार जोडी फाइनलमा

काठमाडौं,
साउन १३ ।

दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा’को कभर गायन प्रतियोगिताको फिनालेका लागि एघार जोडी छानिएका छन् । एशियन म्युजिकले आयोजना गरेको प्रतियोगितामा गीतका लागि १७३ जनाले भिडियो पठाएका थिए । हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णायक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले बताउनुभयो ।

प्रतियोगिताका लागि युनिशा शेर्पा देशार र सुमित श्रेष्ठ, सिर्जन गुरागाईं र उमेश राउत, आयुष्मा महर्जन र सविन महर्जन, कुमारी बिसी र सन्दीप केसी चयन हुनु भएको छ ।

यस्तै अन्य जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी, अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहनु भएको छ ।

प्रतियोगिताको निर्णय साउन २१ गते सार्वजनिक गरिनेछ । विजेता जोडीलाई एशियन म्युजिकले एक गीत गाउने अवसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ ।

आयोजक गुरुङले तीन महिनाअघि दिवंगत हुनुभएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उहाँको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

डब्बु क्षत्रीको रचना र जुगल डंगोलको सङ्गीतमा तयार भएको यो गीत पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो । ओरिजिनल गीतमा गायक प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाउनुभएको हो । जसलाई एशियन म्युजिकबाट सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार