काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा

काठमाडौं,
साउन १० ।

काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा पूर्ववत आदेशहरू जारी गरिएको हो ।

लम्ब्याइएको १० दिने निषेधाज्ञामा पनि कुनै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसको भिडभाड हुने कार्यक्रमहरू गर्न रोक लगाइएको छ ।

यस्तै, खुल्ला स्थानमा मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल र व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् ।

रेष्टुरेन्ट तथा फाष्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा पनि साँझ ७ बजेसम्म मात्रै चलाउन पाइनेछ ।

उपत्यकामा वैशाख १६ यता लगातार निषेधाज्ञा छ । तर, पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार