काठमाडौं,
साउन ५ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्नसमेत भनिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको थियो । बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।
परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो ।
यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।






