✍️ डा. डीआर उपाध्याय
काठमाडौं
असार २८ ।
आज मुलुक सवै हिसावले तहस नहस छ । सरकारी जागिर र सरकारी तलव भत्ता खाने बाहेक अरु सवैको दिल खुशी छैन । किन भने असार सुरु भएदेखि बाढी, पहिरो र डुबानले देशलाई क्षतविक्षत बनायो । अर्कोतर्फ विश्वव्यापी महामारी कोभिडले सवैलाई थिलै थिलो बनाएको छ । अहिलेसम्म आर्थिक रुपमा कोही माथि उठन सकेको छैन । पछिल्लो दुई वर्षलाई हेर्ने हो भने कोभिडले जनजीवन नै अस्तव्यस्त बनाएको छ । यस्तो अवस्थामा सरकार गम्भिर बन्नुपर्ने हो त्यस्तो देखिदैन । जनप्रतिनिधिले जनताको गुनासो सुन्नुपर्ने बेलामा कता कता अलमल्लिए जस्तो देखिन्छ । यसरी जनताको सेवा हुँदैन ।
देश सङ्कटमा परेको बेला सवै गम्भिरतापूर्वक लाग्नुपर्ने हो । कोही मुलुक प्रति गम्भिर भएको देखिदैन । सबै आ–आफ्नो स्वार्थ पूर्ति गर्नेतर्फ लागेका छन् । जनताको सेवाका लागि भनेर निर्वाचनमा जनताले मत दिएर जनप्रतिनिधि चुनेका हुन । उनको ब्यक्तिगत स्वार्थका लागि होइन । जनता सङ्कटमा परेका बेला ती जनप्रतिनिधिहरूले जनताको सुखदुखमा साथ दिएको खै ? जनप्रतिनिधिले जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हो । तर, जनप्रतिनिधि सत्ताकै वरीपरी घुमिरहेका छन् ।
विपक्षीदलहरूको पनि प्रभावकारी भूमिका देखिएन । सत्ताका लागी विपक्षी दलहरूले एउटा गठबन्धन बनाएका छन् । उनीहरू पनि कसरी हुन्छ आफू सत्तामा जाने दाउ खेलिरहेका छन् । उनीहरू पनि उही ड्याङको मूला सावित भएका छन् । राजनीतिक किचलोले मुलुकलाई झनै ठूलो समस्यामा पारेको छ । राजनीतिक कारणले समग्र मुलुक सङ्कटतर्फ धकेलिएको छ । राजनीतिक दल र तिनका नेताहरू पनि एकापसमा कुर्सी, शक्ति र पदका लागि लगिरहेका छन् । पद र शक्तिका लागि उनीहरू जे पनि गर्न तयार छन ।
पार्टीको विधान, नीति, सिद्धान्त र मूल्यमान्यता सबै कुरालाई भुलेर पद र शक्तिका लागि मरिमेटेका छन् । देश विधिको शासनले चल्नुपर्छ । विधिको शासन सङ्कटमा परेको छ । जताततै बेथिति निम्तिएको छ । कुनै पनि पार्टी विचारले चलेका छैनन् । विचार र सिद्धान्तले पाटी चलेका भए देशको यो हालत हुन्थ्यो र ? पार्टीले जनतासँग मत माग्न अव लाज मान्नुपर्छ । अव जनताले नेतालाई विश्वास गर्न पनि गाह्रो छ ।
देशको नेतृत्व गर्न सक्ने दुरदर्शी नेताको भने मुलुकलाई खाँचो छ । छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा, विश्वव्यापी महामारी कोभिडको विषयमा, दैवीप्रकोप, बाढीपीडितको उचित व्यवस्थापन तथा राहत र पुनस्र्थापनाको सम्बन्धमा योजना बनाउनुपर्छ । सत्तामा टासिएर मात्र हुँदैन । मुलुकलाई निकास दिन सक्नुपर्छ । विपक्षी गठबन्धन पनि मुलुक प्रति इमान्दार हुनुपर्छ ।
अहिलेसम्मको अवस्था हेर्दा देश सही गतिमा अघि बढन सकेको छैन । अहिले दलका नेताहरूले राम्रो काम गर्न सकेनन् भने मुलुकमा अर्को शक्ति जन्मिन सक्छ । मुलुक र जनताले दुःख पाउन सक्छन् । प्रतिपक्ष पनि सत्ताकै लागि लडिरहेको छ । अब विपक्षी गठबन्धन र सत्तापक्ष दुवैले बेलैमा सच्चिन अति जरुरी भइसकेको छ । होइन भने राजनीतिक दलहरूप्रति जनताको विश्वास नै गुमेर जानेछ ।






