काठमाडौ,
असार २७ ।
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड-१९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४४७ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एक लाख ११ हजार ४७ जना नेपाली कोरोना संक्रमण मुक्त भएका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिवार साँझ (१० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।
संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।






