मानव सेवा आश्रम पोखरामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

पोखरा,
असार २५ ।

मानव सेवा आश्रम पोखरामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गण्डकी आयुर्वेद औषधालयको आयोजनामा कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा र २५ नं. वडा हेमजा स्थित मानव सेवा आश्रमको संरक्षणमा रहेका आश्रितहरूलाई निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा. नारायण श्रेष्ठ, गण्डकी आयुर्वेद औषधालयका प्रमुख डा. कुमार कासुला, डा. विवस बास्तोला, डा. दिपक भुसाल, ल्याब टेक्नोलोजीष्ट जगतराज पौडेल, स्टाफ नर्स अन्जना के. सि. नागरिक आरोग्य सेवा केन्द्र, पोखरा २२ पुम्दी भुम्दीका कविराज गोबिन्द आचार्य भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. अनिल थापालगायतको टोलीले बिरामी परिक्षण, प्रयोगशाला परिक्षण र परिक्षणका क्रममा देखिएका समस्याको निदानको लागि आवस्यक पूर्वकर्म चिकित्सा अन्तर्गतको स्नेहन स्वेदन साथै आयुर्वेद औषधिहरू बितरण गरिएको थियो ।

मानव सेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले गण्डकी आयुर्वेद औषधालय द्वारा मानव सेवा आश्रममा शिविर सञ्चालन गरेकोमा धन्यबाद टक्राउदै नियमित आयुर्वेद स्वास्थ्य सेवाको लागि अनुरोध गर्नुभएको थियो ।

आश्रमको संरक्षणमा रहेका आश्रितहरूलाई लाभान्वित हुनेगरी शिविरको आयोजना गरेर राम्रो काम गरेको भन्दै गण्डकी प्रदेश स्वास्थ्य सचिव डा. बिनोदबिन्दु शर्माले आभार प्रकट गर्नुभयो ।

शिबिरको शुभारम्भमा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. बिनोदबिन्दु शर्माद्वारा आयुर्वेद औषधीय महत्वको जडिबुटी रक्तचन्दन र अमलाको बिरुवा आश्रमको प्राङ्गणमा रोपिएको थियो । कार्यक्रमको औपचारिक सत्र स्वास्थ्य सचिव डा. बिनोदबिन्दु शर्माको प्रमुख आतिथ्यता, गण्डकी आयुर्वेद औषधालय प्रमुख डा. कुमार कासुलाको अध्यक्षता र कार्यक्रम संयोजक वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार