✍️ पेशल आचार्य
काठमाडौं
असार १८ ।
अनवरत
झरेका
यी निर्झर
निर्निमेष
र निर्दोष
जलकण
या
तन्नेरी पानीका बुँदहरू
धर्तीका
शरीरमा जिद्दी गर्दै
अकण्टक मडारिँदा
असमेल कुत्कुतीलाग्दो हो
धरणी लाई ?
अनुमेय
विषय र वासना
बुँदजति नरम
एकनाश प्रहार
उति कडा,
पानी
पवन
मुस्कान
र हेराइ
जति मसिना हुन्छन्
प्रहार झन्झन् तीव्र
प्रतिपल
जिन्गदीमा,
पानी परिरहेछ
एकथरी छानो बाहिर
झरीमा मस्त भएर रुझिरहेछन्
अर्काथरी छानो भित्र
टाउको ओताउने ठाउँ नपाई
व्यस्त भएर
भिजिरहेछन्,
महाशय,
नढाँटी भन्नुस् त यहाँलाई
रुझ्न मन लाग्छ
कि भिज्न ?






