✍️ नवीन मनोहर
रामेछाप, मन्थली
असार १८ ।
दुःख छ यहाँ
सबैलाई दुःख छ
कसैलाई दुई छाक
जुटाउने दुःख छ
कसैलाई भने
स्वीस बैँकमा लुकाएको पैसा
टिकाउने दुःख छ,
म त सबै-सबै दुखी आत्मा देख्छु
गोरख धन्दामा क्लान्तपतिदेखि
अध्यादेशमा दस्तखत धस्काउने राष्ट्रपतिसम्म
दुखी छन् यहाँ शक्तिशालीहरू
अझ शक्तिशाली हुन नपाएकामा
निरिहहरू
अझ निरीह हुन नपाएकामा
सन्तान
दर सन्तान
सबै-सबै
उस्तै-उस्तै हुन
कसैलाई
पोखिएको टिप्न नपाएर दुःख छ
कसैलाई नभएको छरिएर अझ दुःख छ,
दुःखका नदी बगेका छन्
चारैतिर
बाढी आएको छ
अहिले आँसुको
पीडाको
र कहरको,
यो दुःखलाई
मौका मानेर
कोही चौका हान्दैछन्
यो दुःखलाई
क्यास गर्न
कोही कहर थप्दै छन्,
तिनीहरू लाई थाहा छैन
किन मरुन्जेल
दुःखका ती लहराहरू कहिल्यै
ओइलाउँदैनन्
दुःखका ती गीतहरू
कहिल्यै तुरिँदैनन्






