गंगा वरदानको स्वरमा ‘धराने हावा तोङ्बाको पानी’ (भिडियोसहित)

धरान,
असार १६ ।

झण्डै १८ वर्ष पछि लोकगायक गंगा वरदान नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ गीत लिएर स्रोता तथा दर्शकमाझ आउनु भएको छ । विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुत गरिएको यो गीतलाई गायक वरदानले लिरिकल भिडियोको रुपमा सार्वजनिक गर्नुभएको हो ।

‘हाइकिङ बाबा’को रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाइको रचना तथा वरदानकै सङ्गीत रहेको गीतमा सिर्जन नेपालको सङ्गीत संयोजन तथा मिक्सिङ छ ।

२०२५ सालमा भोजपुरको दिङ्लामा आयोजित जिल्लाव्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाइ पनि काले’ गीत गाएर प्रथम हुनुभएका गंगाले २०३१ सालमा धरानमा आयोजित ‘पुर्वाञ्चलव्यापी लोकगीत तथा नृत्य प्रतियोगिता’मा ‘छपनीले छान छान, डबकीले हान’ गाएर प्रथम हुनुभएको थियो ।

२०३५ सालमा रेडियो नेपालमा आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘कहाँमा काट्यो बेतको लौरी’ रेकर्ड गराउनु भएको उहाँले २०५५ सालमा ‘गंगा वरदान भाग-१’, २०५७ मा ‘गंगा वरदान भाग-२’ र २०६० मा ‘गंगा वरदान भाग-३’ एलबम बजारमा ल्याएपछि कुनै एलबम र गीत बजारमा ल्याउनु भएको थिएन ।

उमेरले ६९ टेकेका र गीत सङ्गीतमा लागेको ५० वर्ष काटेका गायक वरदान आफ्ना केही पुराना गीतसमेत आफ्नो स्वरमा रि-रेकर्ड गर्ने योजनामा हुनुहुन्छ ।

गंगाका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौ न धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’, ‘अरु नै तर्यो’लगायतका गीत लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार