काठमाडौं,
असार १६ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै मनसुन आजबाट थप सक्रिय भएको जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय भएको महाशाखाले उल्लेख गरेको छ । काठमाडौँ उपत्यकासिहत देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
चेतावनीसहितको सूचना जारी गर्दै प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।






