✍️ पेशल आचार्य
काठमाडौं,
असार १० ।
आमा !!
व्योममा
कुनै सीमा छैन
जहाँनिर आमाको सम्झना हुन्छ
गज्जबको आनन्द मिल्छ
आमा हाम्री अग्लाइ हुन्
खुसी भित्र आमाहरू देखिन्छन्
दुःख र पीडाभित्र
हामी आमालाई नै सम्झिरहेका हुन्छौं
हामी आमाका रूपान्तरण हौं,
आमाको कोखबाट आरम्भ जीवनयात्रा
आमाकै काखमा सकिन्छ
जीवनयात्रा आमाकै परिक्रमाहो
आमा भएकै कारण हामी अस्तित्वमा छौं
आमाकै कारण यो जगत्
जीवन्त छ
सुन्दर छ
रमाइलो छ
हजारौं वर्षको उमेर
खोजिरहेको हुन्छ
मानिसले,
आमा शक्तिदायिनी आकाश गंगा
आमासँग ज्ञान छ
विज्ञान छ
सम्पदा छ
आमाको काख
सबैभन्दा अमूल्य ठाउँ
आफ्नी आमाको ओठमा
मुस्कान ल्याउन सक्नेहरू
यो धरतीका वीर हुन्,
कमिला की आमा,
हात्तीकी आमा,
बाघकीआमा,
गोहीकी आमा,
जुरेलीकी आमा,
फिस्टोकी आमा
सबैकी आमाहरू
कति मजाका देखिन्छन्,
सबैका विकल्प छन् यो धराधाममा
राम्रोका अगाडि नराम्रो जस्तै
नराम्रोको अघि राम्रो जस्तै
आमाको विकल्प
यो अस्तित्वमा छैन,
आमा भन्दा बाहिर ठाउँ नै छैन
आमा भन्दा पर
कुनै कुराको कल्पनासम्म गर्न सकिँदैन
धरतीका महामनाले
अरू आमाको खोजी गरेका छन–
नदीलाई
अन्नलाई
गाईलाई,
ईश्वरकी आमा
र मेरी आमामा
म फरक पाउँदिन्
राजाकी आमा
र मेरी आमामा
म फरक पाउँदिन्
महान् योगीकी आमा
र मेरी आमामा
म फरक पाउँदिन्
कठोर श्रम गरिरहेकी
श्रमिककी आमा
र मेरी आमामा फरक पाउँदिन्
संसारकै धनी व्यक्तिकी आमा
र संसारकै गरिब व्यक्तिकी आमामा
फरक पाइँदैन
बाबुहरू फरक हुन्छन्
आमाहरू फरक रूपका पाइँदैनन्,
शंकराचार्यले आमाको सुन्दर गान गरे
विवेकानन्द,
योगानन्द,
शिवपुरी बाबा,
खप्तडबाबा,
महाअवतार बाबा,
गोरखनाथ बाबा,
कविर बाबा,
संसारका सबै महामनाले
दिल खोलेर आमाको गुणगान् गरे
हिमालय रूप
आमाकै रूप
फूलको रूपलाई
आमाकै रूप
पहाडहरू
आमाकै रूप
मरूभूमिको फाँट
आमाकै रूप
सौन्दर्यता आमाकै रूप
करुणा आमाकै रूप हो
दया आमाहरूकै रूप
त्याग आमाकै रूप हो
सिर्जनाहरू आमाकै रूप हो
र सबै विद्या आमाकै रूप
सबै असल व्यवस्थाहरू आमाकै रूप
जहाँ सत्य छ त्यो आमाकै रूप,
धरतीको पहिलो शब्द आमाबाटै
धरतीको पहिलो पाइला आमाकै काखबाट
पहिलो अक्षर
पहिलो अङ्क
आमा पहिलो लक्ष्य
आमासँग गुन्गुनाउन मिल्छ
आमासँग मन खोलेर हाँस्न मिल्छ
आमासँग आफूलाई रित्याएर रून मिल्छ
आमालाई मात्र मानिसले सबै कुरा भन्छ
र आमाले मात्र थाहा पाउन सक्छिन्
आफना सन्तान कामनका कुराहरू !
संसारका सबै नदीको मसी
र सबै वृक्षको कलम बनाएर लेख्दा पनि
आमाको सकल महिमा लेखि सकिँदैन ।।






