काठमाडौं,
असार ४ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै सामान्य देखि पूर्ण बदली रहने देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । राति पनि देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






