कविता : सानो

✍️ पेशल आचार्य
काठमाडौं,
असार ४ ।

आटव्यको वन
विशाल हुन्छ
हराइन्छ
त्यसमा ठूल्ठूला
नाम्ले फेद भा’का रूखहरू
उरुङ् उरुङ् हुन्छन्
तप्क्यानमा रहेका
बुटाहरू सबै पहेँलिन्छन्
तिनै बुटा सुक्छन्
हिउँदमा- लाग्छ डढेलो
अनि खर र बुटा हुँदै
यमानको रूख
र आटब्यको चारकोसे झाडी
सानो आगाको झिल्काले
डढेर खरानी हुन्छ,

राजप्रासादको
कम्पाउण्ड
महल
चउर
ठूला छन्
तर ती सबैमा पस्ने
ढोका सानो छ
सानो ढोकामा
सानो ताल्चा लगाइन्छ
सानो ताल्चालाई
अझ सानो साँचोले खोल्छ,

तासका लुगा महँगा छन्
बग्रेल्ती गोजीहरू
जसमा टाँक छिन्न लागेको छ
ती सबैलाई तुन्ने गाँस्ने
सियो सानो छ,

आलीसान भवन
लमतन्न छन् दर्जनौं
जोगी जस्ता पहेँला
स्कुल बसहरू
कार्यशाला
कम्प्युटर प्रयोगशाला
कक्षा : १२, ११ र १०
सबै ठूला छन्
नौ
सात
पाँच
तीन
हुँदै हुँदै कक्षा : एक र नर्सरी
साना कक्षाहरू
हेपिने रहरहरू
तर त्यहाँ हाँस्ने अनुहारहरू
कति ठूला छन् ?

समुद्र
नदी
खोला
खहरे
खोल्सो
मुहान्
र बुँद
शक्ति त बुँदमै छ,

वटवृक्ष
हाँगो
फल
वीज
सृष्टि त वीज मै छ,

लोकतन्त्र
संघ
प्रदेश
स्थानीयतह
वडा
गाउँ
परिवार
व्यक्ति
भोट
चोट
र खोट
सानो खोटले
सत्तापर्लक्क पल्टिन्छ
– हिजो पल्टियो
– आज पल्टिँदैछ
– र भोलि पल्टिन्छ,

सानो भनी नहेप
सानोमा
अधीक शक्ति छ ।
प्रचुर तागत पनि छ ।।

यसमा तपाइको मत

अन्य समाचार