काठमाडौं,
जेठ १८ ।
मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र तीन हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत पाँच हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ६६ हजार ५८७ पुगेको छ । पछिल्लो समय देशभर एक लाख चार हजार ७८९ जना सक्रिय संक्रमित छन् ।
यस्तै थप ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या चार लाख ५४ हजार ३४४ जना पुगेको छ । यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो ।
देशभर पछिल्लो समय एक हजार ८९५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ४९१ आइसीयू र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।






