काठामडौं,
जेठ १३ ।
कोभिड-१९ बाट संक्रमित विरामीहरूको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिनु भएका वरिष्ठ चिकित्सक डा. रणजीतकुमार झा कुशल गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ भन्ने कुरा धेरैलाई थाहा छ ।
लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा. झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मानमा एउटा गीत गाउनु भएको छ ।
‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरूको उपचारमा खटिएका चिकित्सकहरूको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरूले आफ्ना सम्पूर्ण पीडाहरू बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ ।
डा. रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीत गिरिराज निरौलाले रचना गर्नु भएको हो । गीतमा डा. झा तथा गीतकार निरौलाको सङ्गीत निर्देशन छ ।
गायक डा. झाका अनुसार विदेशमा बसोबास गर्नु हुने गीतकार गिरिराज निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा. झासहित सम्पूर्ण चिकित्सकहरुको वाध्यतालाई गीतमा उतार्नु भएको थियो ।
गीतकारले लोक शैलीको धुन पनि तयार पार्नुभएको थियो, जसलाई मैले थोरै परिमार्जन गरेर सङ्गीतबद्ध गर्दै आफ्नो शैलीमा ढाल्ने जमर्को गरेको छु, डा. झाका अनुसार अघिल्लो वर्ष समयाभावका कारण यो गीत रेकर्ड गर्न भ्याइएको थिएन । यसैबीच गायक झाले करिव एक महिनाअघि मात्र यो गीत रेकर्ड गराउनु भएको हो ।
गीतमा भोकल हाल्ने क्रममा अर्को तनाव भयो, गीतका सबै ट्रयाकहरू उपलब्ध नभएपछि सिंगल ट्रयाकमै गीत रेकर्डिङ गर्नुपरको थियो, गायक डा. झा सम्झनु हुन्छ-‘यो कुनै पनि गायक-गायिकाका लागि निकै नै चुनौतीपूर्ण हुन्छ जस्तो मैले अनुभव गरेको छु ।’
गीतमा महाराज थापाको सङ्गीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन छ । महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा. झा पनि प्रस्तुत हुनुभएको छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरूलाई पनि चित्रण गरिएको छ ।
मुकेश हुमागाईंद्वारा छायांकन गरिएको भिडियोमा निर्देशक निशान कश्यपकै रङ्ग संयोजन तथा सम्पादन छ भने गीतको गीतको भिडियो डा. झाकै आधिकारिक यूट्युब च्यानल रणजीत कुमार झामार्फत अपलोड गरिएको छ ।






