चलचित्र पत्रकार संघ दाङ शाखाले भर्चुअल रुपमा मनायो राष्ट्रिय चलचित्र पत्रकारिता दिवस

दाङ,
जेठ ७ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले कोरोना महामारीलाई जित्नका लागि रङ्ग पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघको २२ औँ स्थापना तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार (आज) भर्चुअल रुपमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष पोखरेलले कोरोनाको विपत्तको घडिमा नागरिकमा निराशापनि बढी देखिएकाले रङ्ग पत्रकारिताका माध्यमबाट सकारात्मक कुरा दिनुपर्ने बताउनुभयो ।

कोरोना महामारीको बीचमा सूचना आदान–प्रदान गर्नु पत्रकारिताको धर्म भएकाले सुरक्षित र सावधानीपूर्वक काम गर्न उहाँले आग्रहसमेत गर्नुभएको छ । विपद्मा पत्रकार तथा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेकाले राज्यले पनि पत्रकारका लागि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । पेशागत सुरक्षाका लागि आफुहरू श्रमजीवीकै पक्षमा रहेको उल्लेख गर्दै उहाँले कोरोनाको विपद्का घडिमा नागरिकलाई निराश भन्दा पनि उत्साहजनक सन्देश प्रवाह गर्नु सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई अनुरोध गर्नुभयो ।

त्यस अवसरमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, पूर्व अध्यक्ष एवम् वरिष्ठ रङ्ग पत्रकार शान्ति प्रिय, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले कोरोना महामारीमा रङ्ग पत्रकारितालाई अझ सशक्त बनाउन सकेन नागरिकमा देखिएको निराशालाई केही भएपनि कम गर्न सकिने बताउनुभयो ।

कोभिड–१९ महामारीका कारण हाल देश नै लकडाउनमा रहेकाले भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले संघले हरेक वर्ष गर्दै आएको सम्मान र पुरस्कारको कार्यक्रमलाई स्थगित गर्दै शुक्रबार ‘चलचित्र पत्रकारिता र पत्रकारको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

संघले वार्षिकोत्सबकै दिन नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको आइसोलेसन व्यवस्थापन तथा सञ्चालन र पत्रकार सहायता कोषलाई पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै पत्रकार देविराम कुसारीको अगुवाईमा कोरोनाबाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित ‘काठ बैङ्क’ अभियानलाई चार हजार ४४४ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको संघका अध्यक्ष शिव पुनले जनाकारी दिनुभयो ।

हरेक वर्षको जेठ ७ गतेलाई संघले वार्षिकोत्सब तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । यसवर्ष संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट कार्यक्रम गरेको हो । संघका अध्यक्ष शिब पुनको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी, निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने, चलचित्र पत्रकार संघका चितवन अध्यक्ष रवी अधिकारी, कास्की शाखा अध्यक्ष अरुण गिरी, पत्रकार बसन्त आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार