बिपतलाई सवै मिलेर सामाना गरौं

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
जेठ ७ ।

अहिले सिंहदरबारको अधिकार गाउँमा गाउँमा छ । स्थानीय तहका जनप्रतिनिधिहरूले अहिले भनेको जनतामा परिरहेको पीर मर्कालाई बुझनु पर्ने बेला हो । यति बेला जनता आपतमा छन् । जनता आपत बिपतमा पर्दा जनताका प्रतिनिधिहरूले ख्याल गर्नुपर्ने हुन्छ । यो बेलामा जनताले दैनिकी कसरी चलाइरहेका छन् ? जनताको अवस्था कस्तो छ ? जनताको घरमा चुल्लो बलेको छ की छैन ? निषेधाज्ञाका कारण काम गर्न नपाएर जनता भोक भोकै छन की के छन ? यी सवै कुराको ध्यान दिनुपर्ने बेला आएको छ ।

निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस् । निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो सातादेखि सुरु भएको निषेधाज्ञाले आम नागरिक समस्यामा छन् । नागरिकले जोहो गरेको खाद्यान्न पनि सकिँदै छ । भोकमरीबाट जनतालाई जोगाउँन सवै सचेत बन्नुपर्छ । अघिल्लो चरणको महामारीबाट पाठ सिकेर पूर्व तयारी गर्न अव ढिलाई गर्नु हुँदैन । नागरिकलाई बाँच्नका लागी समयमा गाँस, बास र कपासको जरुरी हुन्छ । यस समस्याको समाधानतर्फ राज्यको ध्यान समयमै जाओस् । यति बेला सवै भन्दा बढी दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने बर्ग समस्यामा छन् । भोकबाट नागरिकलाई बचाउने योजना तीनै तहका सरकारले बनाउनु आवश्यक छ । जनता समस्यामा छन् । यो अवस्थामा नागरिकलाई भोकवाट बचाँउनु पनि ठूलो मानव धर्म हुन्छ ।

पहिलो चरणको महामारी न्यून हुँदा केही दिन काम गरे पनि नागरिकले कमाएको पैसा बचाँउन सकेका थिएनन् । विषेशगरी दैनिक मजदुरी गर्नेको पहिचान गरी उनीहरूलाई रोगसँगै भोकबाट पनि जोगाउनु पर्छ । भाइरसको महामारी फैलिएको छ । यसले सृजना गर्ने हरेक समस्याको समाधान गर्नेतर्फ अव सवैको ध्यान जान जरुरी छ । भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं । राज्य र सरकार छ है भन्ने अनुभूति दिलाउन जरुरी छ ।

नेपालमा कृषि, उद्योग र सहरबजारमा ज्यालामा काम गर्ने मजदुरको सङ्ख्या ठूलो छ । दिनमा काम नगरे साँझ–बिहान छाक टार्नै उनीहरूलाई धौधौ छ । उनीहरूलाई खानाको चिन्ताले सताउन थालेको छ । समग्रमा विपन्न परिवारलाई भाइरस, भय र भोकले एकैपटक थिचेको छ । मानिसलाई सबैभन्दा बढी डर भनेकै रोग र भोकको हो । यति बेला कोरोना महामारीले शोक पनि थपेको छ । कोरोना संक्रमणको पहिलो लहर सुरु हुँदा गरिएको लकडाउनमा दैनिक राहत दिने काम हुन्थ्यो । चरण चरणमा तीन तहका सरकारसँगै संघसंस्था, व्यवसायी, दाता र व्यक्तिले मजदुरको पेट भर्ने काम गरेका थिए ।

दोस्रो लहरको लकडाउनमा राहत दिने काम सुस्ताएको जस्तो देखिन्छ । महामारीको दोस्रो चरणमा कोरोनाको कडा ‘भेरियन्ट’ आउँदा सबैको ध्यान भनेको यति बेला संक्रमणवाट कसरी जोगिने र कसरी जोगाउने भन्नेमै छ । बिरामीले अस्पतालका शैया भरिएका छन् । अहिले बिरामीलाई पहिलो आवश्यकता अक्सिजनको छ । यसको खोजीमा सबै क्षेत्रको ध्यान पनि गएको अवस्था छ । हो, हामी यति बेला बिपतमा छौं । यो बिपतलाई सवै मिलेर सामाना गरौं ।

यसमा तपाइको मत

अन्य समाचार