काठमाडौं,
जेठ ७ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधलबारको मौसम पूर्वानुमान जारीगर्दै हाल देशभरको मौसम बद्ली रहेको र गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको उल्लेख गरेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश-१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश-२ का थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम, वाग्मती, प्रदेश-१ र २ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान महाशाखले गरेको छ । भारतमा आएको चक्रवात ताउ-ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो ।
आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ । आजराति प्रदेश-१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।






