काठमाडौं,
वैशाख ३१ ।
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत ‘हॉसो छैन…’ सार्वजनिक भएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको सङ्गीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ ।
गीतको भिडियोमा श्रीदेव भट्टराई, अर्चना रिमाल मुख्य भूमिकामा हुनुहुन्छ सहायक भूमिकामा अन्य पात्रहरू एवम् विशेष उपस्थितिमा रङ्ग पत्रकार तथा सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ ।
ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाजसेवाका लागि खर्च गरिने कुरा गीतकार कार्कीले बताउनुभयो ।
सपना लम्सालको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको हो ।






