काठमाडौं,
वैशाख २६ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न स्थानमा आंशिकदेखि पूर्ण बदली हुने जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली महाशाखाले उल्लेख गरेको छ । यस्तै महाशाखाले अहिले प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने छ । ती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।






