काठमाडौं,
वैशाख २५ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको र पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको उल्लेख गरेको छ ।
महाशाखाले हाल देशको पहाडी भू-भागका केही स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया मौसम सफा रहेको जनाएको छ ।
आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
आज राति देशका प्रदेश नं. १, प्रदेश नं. २ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली र देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमानमा उल्लेख गरेको छ ।






