दुई कृति विमोचना

ललितपुर,
वैशाख १७ ।

नेपाल भाषाको प्रचार-प्रसार एवम् संरक्षण गर्ने उद्देश्यले ६८ वर्ष पहिले अर्थात् वि सं २००९ सालताका प्रकाशनमा आएको लप्टन लोकमान श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल भाषाया त्वाथः’ को दोस्रो संस्करण बजारमा आएको छ । यसैगरी उहाँका नाती कवि दिलीप श्रेष्ठद्वारा लिखित पुस्तक ‘खोला पारीकी आमा’ सार्वजनिक गरिएको छ । लप्टन लोकमानको पुण्यतिथिको सन्दर्भ पारेर आयोजित एक अनौपचारिक कार्यक्रमबीच पुस्तकलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्नुभयो ।

कार्यक्रममा बोल्दै वाङ्मय शताब्दी पुरुष जोशीले नेपालमण्डल तथा विश्वका अन्य ठाउँमा छरिएर रहेका नेवारले नेपाली सभ्यता र संस्कृतिको विकास गर्न ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँँले यो पुस्तक नेपाल भाषा सिक्नेका लागि पहिलो खुड्किलोको रुपमा सहयोगी हुने जनाउँदै भन्नुभयो, ‘पुस्तक प्रत्येक नेवारबन्धुको लागि पठनीय र सङ्ग्रहणीय छ ।’ जोशीले कवि दिलीप श्रेष्ठको कविता र त्यसले उठान गरेका विषयले आफूलाई निकै छोएको जिकिर गर्नुभयो । यसअघि केही कविता र गीतलाई समेटेर ‘रेल चढेपछि’ र ‘जिन्दगीको यात्रा कहाँ रोकुँ’ गरी दुई पुस्तक सार्वजनिक गरिसकेका दिलीपको यो तेस्रो कृति हो ।

आफ्नो मातृभाषा र साहित्यको सेवा गर्ने, पहाड र तराईमा रहेका तर यो भाषा नजानेका नेवार समाजमा फेरि एकपटक भाषा प्रचार गर्दै लाग्ने तथा अन्य भाषाभाषीलाई नेपाल भाषा पढ्न सिकाइ दिने उद्देश्यले ले. लोकमान श्रेष्ठले आफू तत्कालीन पूर्व ६ नं, चैनपुरमा रहँदा ताका तयार गरेको यो हस्तलिखित पुस्तक (नेपाल भाषाया त्वाथः) विसं २००९ सालमा सत्य साहित्य सदन ललितपुरले प्रकाशन गरेको थियो । समारोहमा कवि दिलीपले सत्यमोहन जोशीको प्रांगणमा २०७७ मा स्थापित लोक साहित्य भवनको लागि नगद २१ हजार सहयोग पनि हस्तान्तरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार