काठमाडौं,
वैशाख ६ ।
सुरेश थापा ‘दर्शने’ले आफ्नै निर्देशनमा एउटा नयाँ टेलिश्रृंखला निर्माण गरेका छन् । ‘सासु बुहारी’ शीर्षकको उक्त श्रृंखलाको प्रसारण निर्देशक थापाकै आधिकारिक यूट्युब च्यानल दर्शने प्रोडक्सनबाट प्रारम्भ भएको छ ।
सासु बुहारी हरेक शुक्रबार साँझ ७ बजे अपलोड गरिन्छ । पारिवारिक कथावस्तुमा आधारित उक्त श्रृंखलालाई दर्शने प्रोडक्सनले निर्माण गरेको हो ।
श्रृंखलामा विद्या कार्की, माधव पण्डित, अनिता दंगाल, शान्ता कार्की, भुवन पोखरेल, विश्व बराल, रितिका जोशीलगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक थापाकै कथामा आधारित उक्त श्रृंखलालाई राहुल राईले छायांकन गरिरहेका छन् भने एसके थापा यसका सम्पादक हुन् ।
यस अघि म्युजिक भिडियो र हास्य टेलिश्रृंखला मात्र निर्देशन गरेका थापाको पारिवारिक कथावस्तुको यो पहिलो टेलिश्रृंखला हो ।
आफ्नो श्रृंखलाका बारेमा निर्देशक थापाले भनेका छन्-‘दर्शनेको सबैमा दर्शन । पहिलो पटक हास्य विद्याभन्दा फरक पारिवारिक कथावस्तुलाई समेटेर सृजना गर्ने कोशिस गरेको छु । आशा छ तपाईंहरूले मन पराइदिनु हुनेछ । सहयोग गर्नु हुने सबैमा हृदयदेखि धन्यवाद ।’






