भक्तपुर,
चैत ११ ।
मौलिक संस्कृति जोगाउने लक्ष्यका साथ आयोजना गरिएको सोरठी कार्यशाला सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भक्तपुरमा भएको दुईदिने कार्यशाला सम्पन्न भएको हो ।
नृत्य निर्देशक संघ नेपालको आयोजनामा गरिएको कार्यशालामा सोरठी लोक नृत्यको नाच, ताल र भेषभूषासम्बन्धी प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञानका बारेमा जानकारी गराइएको थियो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ उपस्थित थिए । त्यस्तै, कार्यक्रममा नेपालका पहिलो नृत्य निर्देशक भैरवबहादुर थापा तथा प्रतिष्ठानका नृत्य विभाग प्रमुख नमुना शर्माकोसमेत सहभागी थिए ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा रहेका सबै नृत्य निर्देशकले सोरठी लोक नृत्यको नाच, ताल, र भेषभुषाको एकरुपता र यसबारे सैद्धान्तिक रुपमा जान्न आवश्यक छ ।’
यस्तै, प्रतिष्ठानका कुलपति रायनले भने, ‘पहिलोपटक यो ऐतिहासिक कार्यक्रम भएको छ । हामीले नृत्य निर्देशक संघसँग सहकार्य गरेका छौँ । हामीलाई निकै खुसी लागेको छ । यसले निरन्तरता पाओस् ।’
समारोहमा देशभरबाट प्रेम लोप्चन, सानेबहादुर राना मगर, पुर्ण नेपाली, रोचक थापा, केपी पौडेल, वाद्यवादक तथा नृत्यविज्ञ खड्ग बुढामगर लगायतका ११० जना नृत्य निर्देशकले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट सहभागी थिए । सो कार्यक्रममा याम गुरुङले नृत्य, खड्गबहादुर बुढाले तालवादन तथा प्रसाद खप्तडी मगरले गायनको प्रशिक्षण दिएका थिए । त्यस्तै, समारोहमा सहभागी नृत्य निर्देशकलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।






