काठमाडौं,
चैत ८ ।
सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा चलिरहेको छ । ‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षकमा युवाकलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उधिनिएको छ । प्रदर्शित कलाकृतिमा समाजले बिर्सनै नसकिने प्राकृतिक विपद्को घटना र उत्तरदायित्वलाई सचेततापूर्वक प्रस्तुत गरिएको छ ।
कलाकार लामाले समकालीन परिदृश्यमा घटिरहेका विविध परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख कलामार्फत गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसको पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरणलाई लामाले कलामार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले लामो समयसम्म यसको प्रभाव रहिरहने भएकाले कलामार्फत अभिलेख राख्ने कोशिस गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘भूकम्प र त्यसले मानिस, समाज र सम्पदामा पारेको प्रभाव अर्थात् क्षतिलाई कलामा उतारेर इतिहासको एक प्राकृतिक विपद्लाई अभिलेखीकरण गर्ने जमर्को गरेको छु ।’ लामाले छापाचित्रण अर्थात् प्रिन्टमेकिङमार्फत नेपालीलाई झस्काइरहने÷सम्झाइरहने भूकम्प र त्यसले पारेको त्रासदीपूर्ण क्षतिलाई चित्रण गरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयोे, ‘सांस्कृतिक सम्पदा मानिसका मौलिकताका प्रतीक हुन् । तिनको महत्वलाई विश्वमै चिनाउने कोशिस कलाकृति रचना गरेर गरिएको छ । हाम्रा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका रुपमा काठमाडौं उपत्यकामा रहेका ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवद्र्धनमा सबै नागरिक तथा राज्यको उत्तिकै दायित्व रहन्छ । सम्पदा सबै मानिसको साझा सम्पत्ति भएकाले तिनको संरक्षणप्रति हामी जागरुक बन्न सकौँ भन्ने अभिप्रायले मैले कलाकृति रचना गरी प्रदर्शनी गरेको हुँ ।’
कलाकार लामाले २०७२ सालको भूकम्पले काठमाडौं उपत्यकामा रहेका मठमन्दिर तथा विश्वसम्पदामा सूचिकृत सम्पदामाथि पुगेको क्षति, भग्नावशेष रूप तथा पुनर्निर्माणको चरण समेटी तयार पारिएका कलाकृति प्रदर्शनीमा राखेको बताउनुभयो । त्यसैगरी केही कलामा ग्रामीण परिवेशका विषयलाई समेटिएको उनले जानकारी दिनुभयो । कलाकार लामाले भने, ‘महाभूकम्पपश्चात् सम्पदामाथि पुगेको क्षति देखेपछि तिनका बारेमा अध्ययन, अनुसन्धान तथा अवलोकन गरेँ । त्यसपछि चार वर्ष लगाएर सिर्जना गरेका कलाकृति प्रदर्शनीमा राखेँको हुँ । जसमा समकालीन परिदृश्य र सम्पदाको अवस्थालाई देखाउने कोशिस गरिएको छ ।’
प्रदर्शनीमा राखिएका कलाकृति इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका छन् । तिनमा भूकम्पका कारण भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनर्निर्माणको अवस्थालाई देखाइएको छ । नेपालमा प्रिन्टमेकिङ विधामा स्थापित कलाकार लामाले प्रदर्शनीमा राखिएका कला प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको इतिहास रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भूकम्प लगायतका विपद्को विषयलाई कलाकार हुनुको नाताले कलाकृतिमार्फत प्रस्तुत गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हुनत् आपतकालीन समयलाई चित्रण गर्ने हामीसँग तस्बिर प्रमाणका रूपमा रहेका छन् । तैपनि मैले ती बिग्रेका र भत्केका सम्पदालाई कलामार्फत अभिलेख गर्ने जमर्को गरेको हुँ ।’ लामाले भग्नावेश अवस्थामा रहेका ऐतिहासिक सम्पदाको अवस्था लथालिंग देख्दा मन अमिलो भएको सुनाउनुभयो । उहाँले ऐतिहासिक सम्पदाको भग्नावेश देख्दा निकै नरमाइलो लागेकाले कलामार्फत तिनको अवस्थालाई देखाउने प्रयत्न गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘बनाउँदै गरिएका संरचनामा प्रयोग गरिएको शैलीले हामीलाई हाम्रो मौलिकताबाट टाढा लगेजस्तो लाग्यो र मैले कलामार्फत सम्पदालाई चिनाउने र जोगाउने सोच राखी यी कलाकृति रचेँ ।’ काठमाडौं उपत्यकाका वसन्तपुर, स्वयम्भू, बौद्धनाथ, पशुपति, पाटन दरबारक्षेत्र र भक्तपुर दरबारक्षेत्र लगायतका स्थानमा पुगे र तिनलाई नजिकबाट नियाले । त्यसपश्चात् कलाकार लामाले तिनको महत्व र सांस्कृतिक आयामलाई कलामा उतार्न थाले । चार वर्षको अन्तरालमा उनले यिनै सम्पदाको विषयलाई क्यानभासमा उतार्दै गए ।
प्रदर्शनीमा उनले पुनर्निर्माणका क्रममा स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर काम गरेका मानिस र तिनको लगावको विषयमा बनाइएका कलाकृति समेत राखेका छन् । उनले थपे, ‘मैले सम्पदा पुनर्निर्माणका क्रममा बाँस तथा फलामको खट बनाएर काम गरेको देखेँ । यो प्रक्रिया भोलिका पुस्ताले इतिहासको एउटा परिघटनाका रुपमा बुझ्न सकुन् भन्ने ध्येय राखेर कलामा तिनको अवस्था र परिदृश्यलाई देखाएको हुँ । यी कला भविष्यमा यो समयको प्रयोग र माध्यमलाई झल्काउने महत्वपूर्ण दस्तावेज पनि हुनसक्छन् ।’
नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले बताए । उनले भने, ‘प्रिन्टमेकिङको मर्म र त्यसको भावलाई गहिरो गरी बोध गरिएका कलामा सम्पदाको अवस्था र तिनको संरक्षणमा सम्बन्धित निकायलाई घच्घचाउने सन्देश स्पष्ट पारिएको छ ।’
उक्त प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधारशिविरमा तयार पारेका प्रिन्टकला समेत राखेका छन् । आधारशिविरमा प्रिन्टमेकिङ कार्यशाला राखेर तयार पारिएका कलामार्फत उनले भूकम्पमा मृत्यु भएकाप्रति समर्पित गरेका छन् । साथै ती कला नेपाली इतिहासका लागि निकै महत्व राख्ने खालका छन् । उच्च स्थानमा पहिलो पटक प्रिन्टमेकिङ विधामा काम गरिएकाले पनि ती कला विशेष रहन गएका हुन् ।
कलाले समयको आवाज बोल्नुपर्ने बताउँदै कविराजका कलामा त्यो पक्ष सबल रुपमा आएको सिद्धार्थ ग्यालरीका संस्थापक संगीता थापाले बताइन् । उनले कला समयको आवाज भएको सुनाउँदै भनिन्, ‘कलाकारले त्यसलाई सापेक्षित ढंगले उतारेको पाइन्छ । कलाकार कविराजले पनि विनाशकारी भूकम्प र त्यसले पारेको प्रभावलाई निकै कलात्मक रुपमा कलामा उतारेको पाइन्छ ।’ १९ फेब्रअरीदेखि सुरु भएको यो प्रदर्शनी २३ मार्चसम्म चल्ने ग्यालरीले जनाएको छ ।






